This is a Nepali translation of an article titled "Revolutionary Education" by Prof. Hajime Yamsita. It was translated and shared through email by Sudarsan Ghimire.
नेपालका नेताहरु इमान्दार भएनन् ? शिक्षामा सुधार गर !
प्रा. हाजिमे यामसिता
म पहिलोपल्ट सन् १९९८ मा एक जना जापानी समाजसेवीसँग नेपाल आएको थिएँ। त्यतिबेला नै मलाई यो ठाउँ औधी मन पर्यो। यहाँको प्राकृतिक छटा र मानिसहरूको जीवनप्रतिको आशावादले मलाई छोयो। नेपालप्रति म यति मुग्ध भएको छु कि १२ वर्षमा १२/१३ पल्ट नेपाल आइसकेँ। अझै आउन पुगेको छैन। जति आए पनि आइरहुँ जस्तो लाग्छ। नेपालका गाउँघर घुम्दा धेरै असुविधा र गरिबी देखिन्छ। त्यहाँ मानिसहरू धेरै सङ्घर्ष गरेर बाँचेका छन्। तर पनि उनीहरूमा आशा र सकारात्मक सोच उत्तिकै पाइन्छ।
जापान एउटा समृद्ध देश भए पनि त्यहाँ बर्सेनि २५/३० हजार मानिस निराश भएर आत्महत्या गर्न पुग्छन्। गरिबी, अव्यवस्था र अभावका बीच पनि नेपालीहरूमा जीवनप्रतिको आशा गहिरो भएका कारण यहाँ आत्महत्याको दर एकदमै नगन्य रहेछ। यस दृष्टिमा नेपाल धेरै सम्पन्न मुलुक हो। भौतिक र आर्थिक समृद्धि मात्र सबैथोक होइन रहेछ, जीवनलाई हेर्ने दृष्टिकोण त्योभन्दा महत्वपूर्ण रहेछ भन्ने कुरा नेपाल आएर सिकेँ मैले।
नेपालीहरूले जीवनको गरिमा र महत्व बुझेका रहेछन्। जीवनप्रति अविचलित आशा र सकारात्मक सोचले गर्दा नेपाल एक दिन आर्थिक तथा भौतिक रूपले पनि समृद्ध मुलुक हुनेछ भन्ने कुरामा मलाई कुनै सन्देह छैन। आशावादले नै यहाँका मानिसहरूलाई समस्या र चुनौतीसँग लड्दै समृद्धिको लक्ष्य हासिल गर्न सघाउने छ।
आज नेपालले द्वन्द्व, गरिबी र अविकास जस्ता समस्याहरूको सामना गरिरहेको छ। जापानले योभन्दा पनि ठूलो सङ्कट दोस्रो विश्वयुद्धमा ध्वस्त भएपछि सामना गर्नु परेको थियो। मैले पढाउने स्कूलको भवन पनि अमेरिकी सेनाको बमले ध्वस्त भएको थियो। युद्धपश्चात् देशको शिक्षालगायत पुनर्निर्माणका कार्यलाई कसरी अगाडि बढाउने भन्ने छलफल भइरहेको थियो। यसै मेसोमा अमेरिकी सरकारले जापानमा अमेरिकाकै जस्तो शिक्षा नीति लागू गर्ने सिफारिस गर्यो। त्यतिबेला अमेरिकामा शिक्षक आफैँले स्थानीय आवश्यकता अनुसारको पाठ्यक्रम बनाउने र सोहीअनुरुप पढाउने प्रचलन रहेछ। हाम्रो सरकारले पनि सोही नीति अनुसरण गर्ने निर्णय गर्यो। त्यसले हाम्रा शिक्षकहरूमा ठूलो हलचल ल्यायो। किनभने शिक्षकले पहिलोपल्ट आफैँ सोच्नुपर्ने भयो। त्यसअघि शिक्षकहरू पाठ्यपुस्तकमा भएका कुरा विद्यार्थीलाई रटाएर बस्थे। तर अब त शिक्षकले के रटाउने भनेर पनि सोच्नुपर्ने भयो!
समुदायको अवस्था र त्यहाँ ल्याउनुपर्ने परिवर्तनलाई केन्द्रमा राखेर पाठ्यक्रम बनाउन भनियो। साना कक्षामा स्थानीय कुराहरू पढाउन जोड दिइयो भने क्रमशः माथिल्ला कक्षाहरूमा क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका कुराहरू पढाउने नीति लिइयो। तर यसनिम्ति सोच्ने, नयाँ पाठ्यक्रम बनाउने र त्यस अनुसार पढाउने समेत सबै जिम्मेवारी शिक्षकलाई नै दिइयो। जसरी शिक्षकहरूलाई पाठ्यक्रम बनाउन दिइयो, त्यसरी नै उनीहरूले विद्यार्थीहरूलाई आफ्ना साथीहरूसँग सिक्न र आफूले जानेका कुरा सिकाउन लगाए। यसका लागि अन्तरक्रिया र समूहमा अध्ययन गर्ने विधि अपनाइयो। कुनै समस्या या विषयवस्तुका बारेमा विद्यार्थीहरूलाई एकापसमा छलफल गर्न लगाइयो। त्यहाँ समस्या आइपरेमा वा नबुझेको कुरा बुझाउने काम चाहिँ शिक्षकहरूले गर्न थाले। अर्थात् शिक्षकको काम छलफललाई सहजीकरण गर्ने मात्र हुन गयो। अमेरिकीहरूले सिकाएअनुसार लागू गरिएको यो उपाय निकै उपलब्धिमूलक देखियो। यसले विद्यार्थीहरूमा पनि नयाँ कुरा जान्नका लागि खोज्ने र चिन्तनशील हुने संस्कारको थालनी गरायो। जापानको शिक्षाको लागि यो ठूलो ‘टर्निङ प्वाइन्ट’ थियो, जसले आधुनिक र समृद्ध जापान बनाउन निर्णायक योगदान गर्यो।
केही स्कूलहरू घुमेको र शिक्षकहरूसँग कुराकानी गरेको आधारमा भन्नुपर्दा, अहिले नेपालको पढाइ परीक्षामुखी छ। जाँच पास गर्नु नै यहाँको पढाइको मुख्य अभीष्ट जस्तो देखिन्छ। यसले गर्दा जीवनका लागि चाहिने आधारभूत सीपहरू सिक्नबाट बालबालिका वञ्चित भइरहेका छन्। अनि शिक्षकहरू कक्षाको अगाडि उभिएर विद्यार्थीलाई निर्देशन दिनमा नै धेरैजसो समय खर्च गरिरहेका देखिन्छन्। तर यो विधिबाट केटाकेटीहरूले खासै सिक्न सक्दैनन्। बरु शिक्षकहरू पछाडिको बेञ्चमा बसेर विद्यार्थीलाई कुनै समस्या या नयाँ विषयमा छलफल गर्न दिनु उचित हुन्छ। समाधानको बाटो पहिल्याउने या नयाँ–नयाँ खोज गर्ने प्रेरणा र अवसर केटाकेटीहरूलाई नै दिनुपर्छ। त्यहाँ शिक्षक राम्रो सहजकर्ता वा केही हदसम्म ‘मेन्टर’ बन्ने गर्नु राम्रो हुन्छ।
खासगरी हामी शिक्षकहरूले के कुरा सम्झिराख्नुपर्छ भने शिक्षाको ध्येय विद्यार्थीलाई आज्ञापालक बनाउने होइन, बरु उसलाई आफैँ सोच्न सक्ने खोजकर्ता बनाउने हो। यहाँका केही स्कूल घुम्दा मलाई यो कुराको अभाव निकै खट्कियो। शिक्षकको काम विद्यार्थीहरूलाई आफैँ खोज गर्न प्रेरित गर्ने र त्यस क्रममा आइपरेका समस्या हल गर्न सहजीकरण गर्ने मात्र हो। विद्यालय, समाज र देशका समस्याका बारेमा छलफल गर्ने र समाधानका उपायहरू खोजी गर्ने काममा उनीहरूलाई नै अग्रसर गराउनुपर्छ। चिन्तन तथा मनन् गर्ने काम अब विद्यार्थीहरूको हो, शिक्षकको होइन। यसका लागि धेरै पूर्वाधार पनि चाहिन्न र खर्चिलो पनि हुन्न। यसनिम्ति चाहिने मुख्य कुरा भनेको सिकाउने पद्धतिमा परिमार्जन/परिवर्तन नै हो।
स्कूल राम्रो बनाउने सबैभन्दा निर्णायक तत्व स्कूलको व्यवस्थापन हो। जापानमा स्कूललाई सुव्यवस्थित तुल्याउन पूर्व विद्यार्थीहरूलाई स्रोतका रूपमा प्रयोग गर्ने गरिन्छ। हरेक स्कूलमा पूर्व विद्यार्थीहरूको समूह वा क्लब (एल्मुनाइ) बनाउने गरिन्छ, जहाँ उनीहरूको भावनात्मक लगाव समेत हुन्छ। एल्मुनाइ को हरेक वर्ष बृहत् भेला हुने गर्छ। आफ्नो भविष्य बनाउन महत्वपूर्ण योगदान गरेको स्कूलको प्रगतिमा सघाउन पूर्व विद्यार्थीहरू हृदयदेखि नै समर्पित हुन्छन्। अधिकांशले आफ्नो कमाइको निश्चित हिस्सा स्कूललाई चन्दाका रूपमा हरेक वर्ष दिइरहेका हुन्छन्। जापानमा जुन स्कूलको एल्मुनाइ बलियो र प्रभावकारी हुन्छ, त्यो स्कूल राम्रो र स्तरीय मानिन्छ। साधन–स्रोत जुटाउन र नयाँ–नयाँ ज्ञान तथा सीप भित्र्याउन पनि यो उपाय प्रभावकारी हुने गरेको छ। मेरो विचारमा, नेपालमा पनि यो अवधारणा लागू गर्न सकिन्छ। नेपालका स्कूलहरूको दिगो विकास र प्रगति सुनिश्चित तुल्याउन यो एउटा भरपर्दो उपाय हुन सक्दछ।
आर्थिक विकास र शिक्षा एकअर्कासँग घनिष्ट रूपले गाँसिएका कुरा हुन्। मानिसहरू शिक्षित र सीपयुक्त भए भने मात्रै तिनले राम्रोसित काम गर्न र आर्थिक विकासलाई टेवा दिन सक्छन्। देशको आर्थिक विकास भयो भने शिक्षामा लगानी बढाउन सकिन्छ, जसले गर्दा शिक्षाको गुणस्तर बढाउन मद्दत पुग्छ। जापानको आर्थिक विकासमा शिक्षाको ठूलो देन छ। एकातिर जापानले पाठ्यक्रम शिक्षकलाई नै बनाउन लगाउने, प्राथमिक तहसम्म निःशुल्क र अनिवार्य गर्नेलगायतका सुधारात्मक कदम चाल्यो भने अर्कातिर यसनिम्ति अत्यावश्यक धनराशिको जोहो पनि गर्यो। शिक्षामा गरिएको नीतिगत सुधार र लगानीको सार्थक परिणाम एकदशक पनि नपुग्दै देखिन थाल्यो– आर्थिक वृद्धिदर र विकास दुवैले गति लिए। कलेज पढेका हरेक जापानीलाई रोजगारीको अनिवार्य व्यवस्था गरियो, जसले गर्दा एकातिर उनीहरूको जोशिलो र उर्वर समय देश विकासमा सदुपयोग भयो भने अर्कातिर उनीहरूमा निराशा र कुण्ठा जाग्ने मौकै मिलेन।
आर्थिक विकासको लागि तीनवटा कुरा महत्वपूर्ण रहेछन्। पहिलो, ‘म गर्न सक्छु’ भन्ने आत्मविश्वास। दोस्रो, केही गर्ने अठोट। र, तेस्रो नयाँ–नयाँ विचार (आइडिया)। स्कूलले यी तीनवटै कुरा किशोर–किशोरीहरूको दिमागमा बीजारोपण गरिदिनुपर्छ। केटाकेटी/किशोरकिशोरीहरूमा आत्मविश्वास जगाउने र ‘केही गर्ने’ अठोट जागृत गराउने काम मुख्य रूपमा शिक्षककै हो। जापानका त्यसबेलाका शिक्षकहरूले त्यो काम गरेकाले नै जापानले ठूलो फड्को मार्न सकेको हो। आज; नेपालका युवायुवतीहरूमा पनि ‘हामी गर्न सक्छौं, हामीसँग अथाह संभावना छ, हाम्रो देश राम्रो छ’ भन्ने बोध र भावनाको विकास गर्नु जरुरी छ। ‘हामीसँग केही छैन, हामी गर्न सक्दैनौं’ भन्ने भावना राखेर कहिल्यै पनि उँभो लाग्न सकिँदैन। त्यसैले सर्वप्रथम नेपालीहरूमा त्यस्तो (हामी गरीब; केही गर्न सक्दैनौं) भावनाको सट्टा ‘हामी गर्न सक्छौं, हामी सक्षम छौं’ भन्ने विचार र आत्मविश्वास जागृत हुनु आवश्यक छ। त्यसका निम्ति सबैभन्दा प्रभावकारी ठाउँ हो स्कूल।
आत्मविश्वास जगाउने व्यक्ति हो शिक्षक। आजका केटाकेटीहरूमा उचित ज्ञान, सीप र प्रक्रियाद्वारा आत्मविश्वास जगाउने काम स्कूलका शिक्षकहरूको नै हो। त्यसनिम्ति स्कूलका शिक्षकहरू नै सर्वप्रथम त्यस्तो सोच, दक्षता र लगनशीलताले भरिएका हुनुपर्छ, जसले विद्यार्थीहरूलाई सधैं उत्प्रेरित गरिरहन सकुन्।
हरेक देशसँग केही न केही राम्रा कुरा हुन्छन्। अरू देशका राम्रा कुरा अनुसरण गर्ने सुझबुझ र समझदारी आवश्यक रहेछ। जापानको आर्थिक समृद्धि भगवान भरोसामा भएको होइन। युरोप र अमेरिकाले गरेको प्रगति र उनीहरूका राम्रा कुराबाट सिक्न सकेकाले मात्र हामीले प्रगति गरेका हौं। हामीले ती देशहरूबाट प्रविधि र व्यवस्थापन कौशल मात्र सिकेनौं, तिनै देशलाई बजार बनाएर राम्रा र सस्ता मालसामानहरू पनि बेच्न थाल्यौं। भूगोल र जनसङ्ख्याका हिसाबले जापान धेरै ठूलो देश होइन तर यस्तै तौरतरिकाका कारण प्रगति गर्न सफल भएको हो। जापानको यो अनुभव नेपालका लागि पनि उपयोगी हुनसक्छ। यसनिम्ति अरूले के राम्रा काम गरेका छन् भन्ने कुरामा हरदम आँखा लगाएर त्यसबाट आफ्नो देशले कसरी लाभ लिन सक्छ भन्ने कुरामा नेपालीहरूले विशेष ध्यान दिनु राम्रो हुन्छ। किनकि; जसले बढी सिक्न सक्छ, बढी प्रगति पनि उसैले गर्ने हो।
हाललाई नेपालको प्रगति र समृद्धि कृषिमै निर्भर छ। तर परम्परागत विधिबाट अत्यधिक उत्पादन सम्भव हुँदैन। त्यसनिम्ति अत्याधुनिक प्रविधि भित्र्याउनै पर्छ। उत्पादित वस्तुहरूलाई सोझै बिक्रीमा पठाउनुभन्दा कोल्ड स्टोरमा राखेर अथवा प्रशोधन गरेर महँगो मूल्यमा बेचबिखन गर्ने नीति लिइनुपर्छ। उदाहरणका लागि धेरै भटमास उत्पादन हुन्छ भने त्यसलाई सोझै नबेची पेलेर तेल बनाएर बेच्नुपर्छ। यसो गर्दा एकातिर धेरै नेपाली युवायुवतीहरूले रोजगारी पाउँछन् भने अर्कातिर यसबाट हुने आम्दानीबाट अरू अरू क्षेत्रमा पनि रोजगारीको सृजना हुन जान्छ। आधुनिक प्रविधिको प्रयोगको सन्दर्भमा जापान जस्ता देशहरूबाट नेपालले सिक्न सक्छ। प्रविधि भिœयाउने र त्यसलाई उपयोग गर्न सिकाउने सन्दर्भमा सबैभन्दा बढी उपयोगी संस्था त अन्ततः स्कूलहरू नै हुन्छन्।
आर्थिक क्षेत्रहरूको पहिचान गर्ने र त्यसको विकासका लागि नीति बनाउने काम सरकारको हो। तर शिक्षासँग यसलाई नजोडी उत्तम नतिजा हासिल हुँदैन। कृषि, व्यापार र पर्यटनलगायतका आर्थिक उपार्जनका नयाँ–नयाँ क्षेत्र र माध्यमहरूबारे सम्भावनाको खोजी गर्ने सोचदेखि त्यसको लागि आवश्यक ज्ञान तथा सीपहरू माध्यमिक र कलेज तहको शिक्षाले दिनैपर्छ।
शिक्षाले अर्को एउटा कुरा पनि हरेक नागरिकलाई दिनुपर्छ। त्यो हो, देशलाई माया गर्ने भावना। आजको नेपाली राजनीतिक नेतृत्व देशको समृद्धिप्रति कटिबद्ध र इमानदार हुन नसकेको गुनासो सुनिन्छ। जुन धेरै हदसम्म नाजायज पनि नहोला। तर यसनिम्ति पनि नेपालको शिक्षा नै जिम्मेवार छ। नेतृत्वमा पुगेका मानिसहरूले पाएको शिक्षामा कहीँ न कहीँ कमी भएरै यो समस्या देखिएको हो। कमजोरी कहाँ छ– पाठ्यक्रममा, पाठ्यपुस्तकमा, शिक्षकमा वा अन्यत्र कतै? त्यसको पहिचान गरी समस्या समाधानका लागि उचित कदम उठाउने कुराले अहिले पहिलो प्राथमिकता पाउनुपर्छ।
यताका वर्षमा कामको खोजीमा वा पढाइका लागि ठूलो सङ्ख्यामा नेपालीहरू विदेशिन थालेका छन्। विदेश जानु अवश्य पनि नराम्रो कुरा होइन। काम या पढ्न जे गर्न विदेश गए पनि उनीहरूले सिक्ने अवसर पाउँछन्। यसले उनीहरूमा आत्मविश्वास बढाउँदै लैजान्छ। जापानीहरू संसारमा जहाँ गए पनि आफ्नो देशका लागि सोचिरहन्छन् र एउटा समयपछि उनीहरू देश फर्केर काम गर्न चाहन्छन्। विदेशबाट सिकेको ज्ञान र सीप प्रयोग गरेर आफ्नो देशलाई समृद्ध पार्ने सपना र अठोट नेपालीमा पनि हुनुपर्छ। त्यस्तो सपना र अठोटले नै एक दिन नेपाललाई साँचो अर्थमा संसारकै समृद्ध देशमा रुपान्तरित गर्न सक्छ। त्यसनिम्ति नेपालको शिक्षालाई देशप्रेम गर्ने नागरिक उत्पादन गर्ने गरी सुधार गर्नु उपयुक्त देखिन्छ।
प्रस्तुतिः सुदर्शन घिमिरे
(दोस्रो विश्वयुद्धताका जापानी सेनामा रहेका प्रा.यामसिता शिक्षक र पत्रकारपछि टोकियो विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक भए। हाल उनी अवकाशप्राप्त जीवन बिताउँदै छन्। यो लेख केही समयअघि काठमाडौंमा उनीसँग कुराकानी गरेर तयार पारिएको हो ।)
शिक्षक मासिक साउन २०६७ बाट


